काठमाडौं, २७ माघ । राष्ट्रिय परीक्षा बोर्डले करिव ५ लाख विद्यार्थी यस पटकको एसईईको परीक्षामा उपस्थित हुनसक्ने अनुमान गरेकाे छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारलाई जिम्मा दिन कानुनी समस्या रहेको बताएका छन् ।
बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले गरेको कार्यक्रममा उनले एसईई सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिन कानुन निर्माणको तयारी भइरहेको पनि बताए । ‘सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो छ’ उनले भने, ‘हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौं ।’ कोरोना भाइरसको महामारी फैलिएपछि यस वर्ष पनि गत माघ १ देखि विद्यालय बन्द गरिएका छन् । विद्यालय बन्द भएको अवस्थामा परीक्षाको मिति तोकेको भन्दै राष्ट्रिय परीक्षा बोर्डको आलोचना पनि भइरहेको छ । तर अध्यक्ष शर्मा भने फागुन र चैतमा विद्यालय सञ्चालन हुने र वैशाखमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘अब फागुन १ गतेदेखि राम्रोसँग विद्यालय र कलेजहरु व्यवस्थित भएर सञ्चालन भएमा फागुन र चैत दुई महिना पढिसकेपछि लगभग ८० प्रतिशत पठनपाठन सम्पन्न भएको हुनाले वैशाखमा परीक्षा गर्न सकिने अवस्था सिर्जना हुन्छ’ उनले भने । वैशाख ३० गते सरकारले स्थानीय निर्वाचन गर्ने निर्णय गरेकाले त्यसअघि नै परीक्षा सञ्चालन गर्नुपर्ने अध्यक्ष शर्माले बताए । अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिए ।
प्रतिक्रिया