विग्रिएको वैदेशिक रोजगार सुधारको अभियानबाट कुनै पनि हालतमा पछि हट्दिन : श्रममन्त्री श्रेष्ठ


काठमाडौं, माघ २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विग्रीएको वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफु पछि नहट्ने प्रतिवद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा मंगलबार सरोकारवालाहसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको मन्त्री श्रेष्ठले बताए । आफुले श्रमिकको हितमा परिणाममूखी काम गर्दै आइरहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेलाई सरकारले हदैसम्मको कारवाही गर्ने पनि मन्त्री श्रेष्ठले म्यानपावर व्यवसायीलाई चेतावनी दिए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्याउनुपर्ने उनको भनाइ थियो । नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई०बीच हुने संयुक्त कार्य समिति बैठकमा नेपालले न्युनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनर्एकीकरण तथा पुनर्स्थापना कार्यक्रम संचालनजस्ता बिषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमि कमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए । सातवटै प्रदेशमा संचालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य वीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्युनतम पारिश्रमिक वृद्धि लगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताए ।

कार्यक्रमका सहभागिले युएईमा रहेका नेपाली श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने बिषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाँदैछ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति