जाडो याममा विशेषगरी बालबालिकामा रुघाखोकी बढी र वयस्कमा घाँटीको समस्या

मानिसको संवेदनशील अंगमध्ये नाक, कान, घाँटी पनि हो । विगत तीन बर्षदेखि विश्वव्यापी महामारी बनेकोे काभिड–१९ संक्रमण सर्ने माध्यम नै नाक र मुख देखिएको छ । यद्यपि झण्डै एक शताब्दीपछि आएको कोभिड महामारी मात्र होइन, हरेक वर्ष विशेषगरी जाडोयाममा सिजनल फ्लुको रुपमा नाक,कान, घाँटीको समस्या देखापर्छ । जाडोयाममा नाक, कान, घाँटीमा आउने समस्या र यसबाट बच्नका लागि अपनाइने उपायहरुका विषयमा वीर अस्पतालका वरिष्ठ नाक, कान, घा“टी रोग विशेषज्ञ डा. अरुण केसीसंग नेपालपेजका लागि सन्जिना श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप ।
विशेषगरी जाडो याममा नाक, कान, घाँटीका कस्ता समस्याहरु देखिन्छन् ?
जाडो याममा रुघाखोकी, एलर्जी, घाँटी दुख्ने समस्या बढी देखिन्छ । विशेषगरी बालबालिकामा रुघाखोकी बढी र वयस्कमा घाँटीको समस्या देखापर्छ ।
नाक, कान, घाँटीका सामान्य समस्या भन्नाले के बुझ्ने ?
विशेषगरी रुघाखोकीको समस्या बढी हुन्छ । रुघाखोकी भनेको भाइरल इन्फेक्सन हो । जाडो याममा घरका ढोकाहरु बन्द हुने, भेन्टिलेसनहरु कम खोल्ने हुँदा यस्तो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ । त्यसपछि भनेको चिसोको, धुवाधुँलोको एलर्जी हो ।
अनि जटिल समस्याचाहिं के हो त ?
विशेषगरी यो जाडो मौसममा नाकबाट रगत बग्ने समस्याहरु लिएर बिरामीहरु अस्पताल आउने गर्दछन् । गर्मी महिनामा नाकबाट रगत आउँछ भन्ने धारणा छ । त्यो सही हुँदाहुँदै पनि जाडोमा चाहिँ किन नाकबाट रगत आउँछ भने बन्द कोठामा हिटर, आगो ताप्दा सुख्खा हुन्छ । नाकमा धेरै सुख्खापन भयो भने रक्त संचालन भएन भने नाकबाट रगत आउँछ ।
यस्ता समस्याको उपचार विधि के हो ?
भाइरल इन्फेक्सन भएको हुनाले साधारण रुघाखोकी आफैं ठिक हुन्छ । हामीले सिम्टमम्याटिक अर्थात जे समस्या छ, त्यही अनुसार उपचार गर्छौ । नाकबाट रगत बग्यो भने इमर्जेन्सीमा उपचार गर्छौ । झन् अहिले त कोभिड–१९ को महामारी छ । सरकारले मापदण्ड तोकेअनुसार सकेसम्म भिडभाडमा नजाने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने गरियो भने रुघाखोकीबाट बच्न सक्छौं । यसैले होला तुलनात्मक रुपमा पछिल्लो दुइ वर्षमा कम बिरामीहरु रुघाखोकीको समस्या लिएर अस्पताल आउनुभएको छ ।
सामान्यतया धेरैले सोझैै मेडिकलबाट औषधि किनेर खाने गरेको पाइन्छ, यो कतिको सही हो ?
रुघाखोकी जुन आफैं ठिक हुने हो, औषधि खाए पनि नखाए पनि फरक पर्दैन । भाइरल इन्फेक्सन ३ देखि ७ दिनमा आफैं ठीक हुन्छ । सबैभन्दा नराम्रो चलन, हामी सानातिना समस्यामा एन्टीबायोटिकको प्रयोग गर्छौं । बिनाकारण एन्टीबायोटिकको प्रयोग गर्दा त्यसका दिर्घकालीन समस्याहरु धेरै हुन्छन् । त्योमध्ये एक हो एन्टीबायोटिक रेजिस्टेन्स ।
नाक, कान, घाँटीको कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
सामान्यतया भाइरल इन्फेक्सन ३ देखि ७ दिनमै निको हुन्छ । ७ दिनबाट पनि रुघा ठीक भएन टाउको दुख्ने, बाक्लो सिंगान आउने, खोकी लाग्ने, जीउ कटकट खाने, जीउ भारी हुने अर्थात् साइनोसाइटिक्स सिम्टम भयो भने अस्पताल जानुपर्छ । यो बेलाचाहिँ बिरामीले एन्टिबायोटिकको प्रयोग पनि गर्नुपर्ने हुनसक्छ ।
कानसम्बन्धी कस्ता समस्या देखिन्छ ?
कानको समस्याको खासै सम्बन्ध जाडोसँग हुँदैन । जाडो यामकै कारण कानको समस्या हुँदैन । तर नेपालमा कानको समस्या धेरै मानिसमा छ । विशेषगरी कान पाक्ने समस्या, समयमा उपचार नपाएर भन्दा पनि सचेत नभएर जटिल समस्याहरु आउने गर्छ । कानको जालीमा प्वाल पर्ने, हड्डी खाने रोग, कान पाक्ने समस्या बढी हुन्छ । साधारणतया हाम्रो जनमानसमा कान पाक्ने समस्यालाई ठूलो समस्याको रुपमा लिइँदैन । जब यसले विकराल रुप लिन्छ, तब मात्रै अस्पताल जाने चलन छ । समयमै ध्यान दियौं भने खासै समस्या आउँदैन ।


कानको हेरचाह कसरी गर्ने ?
पटकपटक कान पाक्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । त्यसको निदान गर्न जरुरी छ । सकेसम्म कानमा पानी नपार्ने, तेलहरु नहाल्ने । तेल हाल्दा झन् इन्फेक्सन हुन्छ । हामी चिकित्सकहरु कानमा तेल हाल्ने कार्यलाई निरुत्साहित गर्छौ । विशेषगरी साना बालबालिकालाई सुताएर दूध खुवाउनु हुँदैन । रुघा लाग्दा कान, नाकलाई असर गर्ने गरी बेस्सरी सिं..सिं.. गर्नुहुँदैन । यो नराम्रो बानी हो । यसले विशेषगरी कानका बिरामीहरुलाई यसले असर गर्छ,।
घाँटीसम्बन्धी कस्ता कस्ता समस्या देखिन्छन् ?
घाँटी दुख्ने पहिलो इन्फेक्सन हो । घाँटी दुख्ने, ज्वरो आउने, निल्न समस्या हुने । कहिलेकाही भाइरल इन्फेक्सनसँग ब्याक्टेरिया इन्फेक्सन पनि हुन सक्छ । ब्याक्टेरियल इन्फेक्सन भयो भने एन्टीबायोटीक सेवन गर्नुपर्ने हुनसक्छ । त्यो बाहेक घाँटीमा एलर्जी हुने जसले गर्दा घाँटी खसखसाउने, खोकी लाग्ने हुन्छ, एलर्जी भए एलर्जीको औषधी सेवन गर्नुपर्छ ।


घाँटीमा हुने जटिल समस्यामा के हुन्छ ?
घाँटी खसखसाउने, स्वरमा परिवर्तन आउने, आज धेरै कराएँ घाँटी खसखसायो भन्दै चिकित्सककोमा नगई हेलचेक्र्याई गर्ने धेरैको बानी हुन्छ । एक, दुई महिनासम्म पनि कुर्छन् चिकित्सकको जानुभन्दा पनि यत्तिकै घरेलु उपाय अपनाउने धेरै समय खेर फाल्छ । जब डाक्टरको आउँनुहुन्छ, तब समस्या एकदमै जटिल भएर घाँटीमा क्यान्सर समेत भइसकेको हुन्छ । घाँटीको इन्फेक्सन एक अंगबाट अर्को ठाउँमा फैलिन सक्छ । त्यस्तो हुँदा समस्या आउन सक्छ, ज्वरो आउने ,पानी पनि निल्न नसक्ने, गाह्रो हुने हुँदा अस्पतालमा भर्ना लिएर अवस्थामा हामीले इन्जेक्सन लगाएर पनि उपचार गर्नुपर्ने हुन्छ । हेर्दा सामान्य तर पछि जटिल रोग बन्ने पनि हुन्छ ।
यसको उपचारचाहिं के हो नि ?
हेर्दाखेरी आवाज मात्र परिवर्तन भएको केही पनि नभएको जस्तो लाग्छ तर क्यान्सर भइसकेको हुन्छ । विशेषगरी सुर्तिजन्य पदार्थ, मादकपदार्थ खानेले आवाजमा परिवर्तन आयो भने चिकित्सकको परामर्श लिन आवश्यक छ । हामी घाँटीको विभिन्न अपरेसन गरिरहेकै हुन्छौ । विभिन्न चरणका घाँटीको क्यान्सरका विरामीहरु आइरहेका हुन्छन् । चाँडै आउनु भयो भने हामीले लेजरले कहीँ पनि नचिरी सानो प्वाल मात्र बनाएर उपचार गर्छौ । धेरैजसो बिरामीहरु एडभान्स केस फैलिएर आउनुहुन्छ । कति त सास फेर्न गाह्रो भयो भनेर आउनुहुन्छ । घाँटीमा प्वाल पारेर स्वास फेराउनुपर्ने पनि अवस्था हुनसक्छ । त्यस्तो विरामीहरुको ठ्याक्कै तथ्यांक नभए पनि धेरै आइराख्नुहुन्छ, अस्पतालमा ।
सावधानीका उपाय के छन् ?
सर्वप्रथम समस्या लिएर बसिराख्ने, दबाउने, जथाभावी उपाय अपनाउने गर्नुहुँदैन, जसले धेरै विकराल रुप लिन सक्छ । समयमै चिकित्सकसँग परामर्श लिएर रोगको पहिचान गर्न सक्यो भने ठूलो समस्याबाट बच्न सकिन्छ । क्यान्सर पनि सुरुमा आउँदा धेरै चिरफार नगरी उपचार गर्न सकिन्छ भने एकदमै फैलिएको केसमा धेरै चिरफारहरु गर्नुपर्ने हुन्छ । अहिले नेपालमै हामीसँग सबै साधनहरु छन् । रोग पत्ता लगाउनको लागि, आजभन्दा केही वर्षअगाडि पनि त्यस्ता साधनहरु उपलब्ध पनि थिएनन् । हामीसँग साधनहरु छ, इन्डोस्कोपी गरेर हेर्नसक्छौ । अहिले त रोगको निदान हुनसक्छ, तर चिकित्सककोमा पुग्नुपर्छ । जटिल अवस्थामा पुग्नु भन्दा अगाडि नै चिकित्सककहाँ पुग्नुपर्छ ।

समस्या नहुने व्यक्ति र समस्या हुने व्यक्तिले ध्यान दिने कुरामा के फरक छ ?
नाक, कान, घाँटीको कुनै पनि समस्या, चाहे नाक एक साइडको बन्द भइरहेको छ, निल्न गाह्रो भइरहेको छ, आवाजमा परिवर्तन भइरहेको छ भने एक, दुई हप्तामा ठीक भएन भने एकचोटी चिकित्सकको पनि परामर्शको लागि जानुपर्छ ।
घाँटी तथा मुखको क्यान्सर हुने सम्भावना कसरी हुन्छ ?
धेरैजसो चुरोट सेवन, पानपराग, गुट्खा, सुपारीहरु धेरै खानेलाई मुखको क्यान्सर हुने बढी सम्भावना हुन्छ । मादक पदार्थ, रक्सीको सेवनले घाँटीको क्यान्सर हुने सम्भावना धेरै हुनसक्छ ।
बालबालिका, बृद्धबृद्धामा चाहिं कस्ता जटिल समस्या देखापर्छन् ?
बालबालिकामा रुघाखोकी नै हो, तर कहिलेकाहीं अवस्था गम्भीर हुनसक्छ । बृद्धवृद्धामा भने दम, छातीको समस्या, निमोनियाजस्ता समस्याहरु देखापर्छन् ।
निमोनियाविरुद्धका भ्याक्सिनहरु पाइन्छ । चिकित्सकको सल्लाहमा भ्याक्सिनहरु लिँदा राम्रो । बच्चाहरुलाई पनि इन्फ्लुएन्जादेखि लिएर अन्य भ्याक्सिनहरु उपलब्ध छन् । जटिल समस्या नआओस् भन्नको लागि भ्याक्सिन लगाउनु राम्रो उपाय हो । विभिन्न उमेर समूहको लागि भ्याक्सिन पाइन्छ ।
नाक र घाँटीको एलर्जी कसरी पत्ता लगाउन सकिन्छ ?
वयस्क उमेर समुहमा विशेषगरी घाँटी, नाकको एलर्जी बढी हुने देखिन्छ । आफूलाई केको एलर्जी छ, त्यो पत्ता लगाउन जरुरी छ, सबैको एलर्जी फरक हुन्छ । अहिले त एलर्जी पत्ता लगाउने विधिहरु पनि आएका छन् । छालाको टेस्टीङबाट एलर्जी पत्ता लगाउन सकिन्छ । एलर्जी पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ ।
नेपालमा नाक, कान, घाँटीको उपचार कस्तो छ ?
पहिला पहिला नेपालमा नाक, कान, घाँटीको सबै खालको उपचार सम्भव थिएन । पछिल्ला वर्षहरु विभिन्न उपकरणहरु भित्रिएका छन् । नाक, कान, घाँटीको धेरैभन्दा धेरै उपचार सम्भव छ । चाहे क्यान्सर होस्, नाक, कान, घाँटीको अपरेसन होस्, धेरै उपचार नेपालमै सम्भव छ । हामीकहाँ उपचार गर्ने जनशक्ति अब्बल नै छन् । नाक, कान, घाँटीको कुनै समस्या लिएर विदेश जानुपर्दैन आजको दिनमा ।


मानिसहरुमा सचेतना पनि बढेको हो ?
मानिसहरु पहिलाको भन्दा अहिले धेरै सचेत भएको पाइन्छ । पहिला एकदमै एडभान्स हुँदा आउनुहुन्थ्यो, तर अहिले सुरुमै आउने बिरामीको संख्या बढेको छ । तर जति हुनुपर्ने हो त्यति भएको छैन । गाउँघरमा अझै समस्या छ । कानको समस्या विशेषगरी बालबालिकामा, कान पाक्छ । पौडी खेल्दा कानको जाली प्वाल पर्छ भन्ने जनचेतना छैन । यो पनि ठूलो समस्याको रुपमा रहेको छ ।
समग्रमा भन्नुपर्दा नाक, कान, घाँटी कसरी स्वस्थ राख्ने सल्लाह दिनुहुन्छ ?
मुख्य कुरा खानपीन पनि हो । प्रोटिन, कार्बोहाइट्रेड खानुपर्छ । शरीर स्वस्थ राख्न शारीरिक व्यायाम, मेडिटेसन गर्न सकिन्छ । कुनै समस्या आउँदा दबाएर नराख्ने, सकेसम्म चिकित्सकको परामर्श बेगर औषधीको सेवन नगर्ने कुरालाइृ ध्यान दिनुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board