एमसीसीका सम्बन्धमा छलफल गर्न तीन पार्टीका शिर्ष नेता ओली, प्रचण्ड र देउवा ४ बजे बालुवाटारमा भेट्दै

काठमाडौं, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँगेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता हुदै छ । निकै चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा छलफल गर्न तीन पार्टी शिर्ष नेताहरुबीच भेटवार्ता हुनलागेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ । अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् ।

स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ । जेठ ५ गतेअघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न ओलीले दबाब दिने भएका छन् । चुनावको मिति घोषणा गर्न सत्ता गठबन्बाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकहरूलाई समेत दबाबमा पार्न खोजेका छन् ।

अमेरिकाले एमसीसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले भने फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न भनेको छ । एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन । संचारमाध्यमलाई प्राप्त पत्र अनुसार फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन भइसक्नुपर्ने अमेरिकाले प्रष्ट भनेको छ ।

१३ असोज (२९ सेप्टेम्बर) मा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार÷पाँच महिनाको समय मागेका थिए । दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए । एमसीसीका बारेमा जनस्तरमा सकारात्मक वातावरण सिर्जना गर्ने दुई नेताको प्रतिबद्धताप्रति प्रशंसा गर्दै एमसीसीले अब संसदबाट अनुमोदन गर्ने समय आएको जनाएको हो ।

देउवा र प्रचण्डको पत्रको जवाफमा एमसीसी बोर्डले मागे अनुसार समय उपलब्ध गराएको अवगत गराउँदै एमसीसी संसदबाट अनुमोदन गर्ने समय तोकेको हो । ‘तपाईंहरू (देउवा र प्रचण्ड) ले तोकेको समय अनुसार २८ फेब्रुअरी २०२२ भन्दा ढिलो नहुने गरी एमसीसी संसदबाट अनुमोदन गर्न सांसद र सत्ता गठबन्धनका नेताहरूसँग काम थाल्न आग्रह गर्दछौं’, पत्रमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति