एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

काठमाडौँ, १८ माघ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेकोु भन्दै उनीविरुद्ध आइतबार उजुरी परेको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् ।

उनले उजुरी गर्ने व्यक्तिको नाम भने उल्लेख गर्न चाहिनन् । उनले भनिन्,हो हामीकहाँ उजुरी आएको छ । उजुरी गर्नेको नाम भन्न मिल्दैन । ओली कोरोना संक्रमण भएको चौथो दिनमा गत माघ १२ गते सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।एमालेको भ्रातृ संगठन युवा संघले माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए ।

युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनिपछि कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने, आदेशमा भनिएको छ ।

त्यस्तै, आदेशमा कुनै पनि प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला लगायतका कुनै पनि गतिविधि गर्न प्रशासनले रोक लगाएको उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ ।

हाल नेपालमा तेस्रो लहरको कारक बनेको कोरोनाको ओमिक्रोन भेरिएन्ट सबैभन्दा बढी संक्रामक रहेको पुष्टि भइसकेको छ । जसका कारण दिनहुँ परीक्षण गराउनेमध्ये झण्डै आधाको रिपोर्ट पोजिटिभ आउने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति