काठमाडौँ, १६ माघ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।
कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन ।” निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ । निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ । अहिले दैनिक ६/७ मिटर मात्रै खनिरहेको छ । उनले भने, “निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ ।” आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए । अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ ।
धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौँतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए । सो स्थानमा रु ३० करोड मुआब्जाबापत बाँडिरहेको र अब रु ३५ करोड आउन लागेको छ । त्यसपछि रु २० करोड आएपछि काम गर्न पर्याप्त हुने उनले बताउनुभयो । धादिङमा अख्तियारमा उजूरी परेका पाँच जग्गा बाहेक अरुतिर जग्गा प्राप्तिको समस्या छैन । उनले भने,“सानातिना समस्या बाहेक जग्गा अधिग्रहणको धेरै समस्या समाधान भइरहेको छ ।” आयोजनासँग जोडेर बीचबीचमा स्थानीयवासीको गुनासो आउने गरेको छ । कहिले पानी सुक्यो त कहिले सडकका विषयमा स्थानीयवासीको गुनासो आउँदा सम्बोधन गर्दै निर्माण अघि बढाइएको प्रमुख शाक्यले बताए । स्थानीयवासीको पानीको समस्या समाधानका लागि पानी ट्याङ्की बनेको छ । पाइप विच्छाउने कामका लागि आयोजनाले बजेट दिएर नगरपालिकाले गर्ने भएको छ । आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झण्डै ५६० जना रहेका छन् । जापानीज निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् ।
प्रतिक्रिया