काठमाडौं, १६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयमातहतमा सरकारको भौतिक सम्पत्तिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। आइतबार केशरमहलको निरीक्षण गर्दै मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रको प्रयोजनका लागि नदिने बताएका हुन्।
उनले सञ्चारमाध्यमहरूमा केशरमहलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचारहरू प्रकाशित भएकाले आफूले महलको निरीक्षण गरेको बताए। उनले सरकारी संरचनाहरू नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए।
‘केशरमहल ऐतिहासिक स्थान हो। जतिवेला नेपालमा शिक्षाको विकास सुरुवात भयो, त्यतिवेलादेखि नै केशरमहल शिक्षासँग सम्बन्धित भवनको रूपमा छ। यहाँ निकै ऐतिहासिक पुराना पुरातात्विकसँग सम्बन्धित विषयहरूको संग्रह गरेर राखिएको छ,’ मन्त्री पौडेलले भने, ‘यसको बाहिरतिर जमिनको कुरा पनि केही सामाजिक सञ्जाल, पत्रिकाहरूमा प्रकाशित भएको पनि जानकारी प्राप्त गर्यौँ ।
कतै शिक्षा मन्त्रालयमातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयको कुराहरू आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएको कुरा हो। कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालयमातहतका यसप्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन। कहीँ कतै भए–गरेको प्रप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ।’
प्रतिक्रिया