शहीद श्रेष्ठ र चन्दको सम्झना

काठमाडौँ, १५ माघ । शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको हो । कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा शहीद दिवस मनाइएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख एवम् मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, प्रवक्ता एवं वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोललगायतले पुष्पगुच्छा अपर्ण गरेका थिए । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

यस वर्ष माघ १० गते अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा तथा दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् । शहीद दिवसको अन्तिम दिन आइतबार बिहान ९ बजे शहीद स्मारक लैनचौरमा स्मृति कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति