रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुर सडक संघर्षमा– व्यवसायीहरु

काठमाडौँ, १४ माघ । रात्रीकालीन व्यवसायीहरूले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसाय गर्न नपाए लाखौं मजदुर तथा व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार (आज) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवासायीहरूले स्वास्थ्य (मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

ठमेलको एलओडी क्लबका निर्देशक भुपेन्द्र शमसेर कुँवरले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने माग राखे । उनले भने, महामारीबाट सबैभन्दा पीडित रात्रीकालीन व्यवसायीहरू छन् । कर्मचारीहरूलाई तलब दिनुपर्छ । भवनको भाडा र बैंकको ऋण तिर्न समस्या भइरहेको छ । सरकारले रातको समयमा व्यवसाय गर्दा कोभिड सर्ने जस्तो गरेर विभेद गरेको उनले आरोप लगाए । निरन्तर व्यवसाय गर्नुपर्ने अवस्था आएमा सदाको लागि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने कुँवरको भनाइ छ । लामो समयको बन्दाबन्दीमा परेको व्यवसाय बिस्तारै उठ्दै गरेको क्षेत्रलाई पुनः बन्द गरेर थलिने अवस्थामा पुर्‍याएको उनले तर्क पेश गरे । अब बन्द गरिरहनु पर्ने हो भने सरकारलाई तालाचाबी बुझाउछौ। महामारीकै कारण धेरै व्यवसायीहरू पलायन भइसकेका छन् । राज्यलाई कर तिर्छौ तर हामीलाई व्यवसाय गर्ने वातावरण बनाइदिनुपरो, उनको माग छ, ग्राहकहरूलाई खोप कार्ड भएमा मात्र प्रवेश दिन्छौ ।

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज) का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्‍चालनगर्न नदिए आफूहरू लाखौंको संख्या सडकमा उत्रने चेतावनी दिए । उनले भने,‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’

गुरुङले गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफूहरूको पीडा सुनाए पनि सुनुवाई नभएको गुनासो गरे । उनले रात्रिकालीन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले भने,‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राती ८ बजेपछि मात्र कोरोना सर्ने रु’ उनले प्रश्न गरे ।

अमेरिका जस्ता ठूलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरूको आपत्ति रहेको सुनाए । उनले भने,‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ । देशमा राज्य नभएको महसुस भइरहेको छ ।

कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनको जोड थियो । राज्यलाई आफूहरूको समस्याको समाधान गर्न उनले आग्रह गरे । सरकारले सञ्‍चालनगर्ने अनुमति दिएमा आफूहरूले आदेशको उल्लघंन नगरी रात्रिकालीन व्यवसायहरू संचालन गर्ने पनि बताए । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको बताए ।

त्यसैगरी रात्रिकालीन मनोरन्जन व्यवसाय संघका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्‍चालनगर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । उनले भने, ‘एक लाख व्यवसायीहरू र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस् ।’

आफ्ना समस्याहरू सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको बताए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्‍चालनगर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए । उनले भने,‘उहाँहरूले जति सक्दो चाँडो खुलाउने आश्वासन दिनुभएको छ तर कार्यान्वयन हुनेमा ढुक्क छैनौं ।’

उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालीन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे । उनले थपे,‘हामीपनि अन्य व्यवसायी जस्तै हौ । आफूहरूले कानून अनुसार व्यवसाय गर्ने अधिकार पाउनुपर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति