मौरिससविरुद्धको खेलमा नयाँ अनुभवः कप्तान लिम्बू

काठमाडौँ, १४ माघ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् ।

मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जीतकै लागि खेल्ने भन्दै उक्त खेलबाट केही नयाँ कुरा सिक्ने र अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने बताए । “हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ”, किरणले भने । नेपालले अफ्रिकन राष्ट्र मौरिससँग पहिलोपटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले मौरिससविरुद्धको पहिलो मैत्रिपूर्ण खेल भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल्नेछ ।

नेपाल र मोरिससबीच शनिबार हुने अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारे सातदोबाटोस्थित एन्फामा भएको पत्रकार सम्मेलनमा आफ्नो तयारी बारे जानकारी दिंदै नेपाली फुटबल टोली ।

त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताए । मौरिससका प्रशिक्षक टोनी फ्राँस्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको भन्दै नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताएका छन् । नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छुन्जु र जगजीत श्रेष्ठ रहेका छन् । नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भने मङ्गलबार हुनेछ ।

नेपाल र मोरिससबीच शनिबार हुने अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारे सातदोबाटोस्थित एन्फामा भएको पत्रकार सम्मेलनमा आफ्नो तयारी बारे जानकारी दिंदै मोरिससका टोली ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति