काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।राष्ट्रपति शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ प्रमुख स्वकीय सचिव अधिकारीले भने, ‘यो नियमित भेटवार्ता हो ।’
स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेका हुन् ।
उहाँहरूबीच भेटका क्रममा खासगरी स्थानीय तह निर्वाचनमै केन्द्रित भएर कुरा भयोु, राष्ट्रपतिका सूचना विज्ञ टीका ढकालले भने, समयमै स्थानीय तह निर्वाचन हुनुपर्ने कुरामा राष्ट्रपतिले चासो राख्नु भयो। उहाँले समयमै निर्वाचन गरेर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सुझाउनु भएको छ।भेटका क्रममा राष्ट्रपतिले दलहरुले नै बनाएको संविधानको पालना गरेर जाँदा राम्रो हुने पनि बताएकी थिइन्। राजनीतिक दलले नै बनाएको संविधान भएकाले त्यसको पालना गरेर जानु उचित हुन्छु, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ढकालले भने, निर्वाचनलाई तलमाथि गर्दा अन्य समस्या आउन सक्ने भएकाले यसतर्फ सरकारले संविधान अनुसार सुझबुझपूर्ण निर्णय लिनु उचित हुन्छ। म यसबारेमा साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छुु भेटमा राष्ट्रपतिलाई देउवाले दिएको जवाफबारे ढकालले भने, सरकारले संविधान र कानुनअनुसार नै निर्णय लिएर अघि बढ्नेछ। राष्ट्रियसभा निर्वाचन परिणामको भोलिपल्ट भएको यो भेटलाई नियमित भनिए पनि अर्थपूर्ण मानिएको छ।प्रतिनिधिसभामा साढे ३ महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध छ।
संसद खुलाउने प्रधानमन्त्रीको प्रयास सफल हुन सकिरहेको छैन। यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग संवाद गरेका छन्। पछिल्लो समय स्थानीय तहको निर्वाचनलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच पनि विवाद चलिरहेको छ। प्रतिपक्षी एमालेले वैशाखमै स्थानीय निर्वाचन गर्नुपर्ने अडान लिएको छ। सत्तारुढ पाँच दल आगामी असोजदेखि फागुनसम्म तीनै तहको निर्वाचन गर्ने गरी संविधान संशोधन तयारीमा लागेका छन्। स्थानीय तहको तेस्रो चरणको निर्वाचन २०७४ असोज २ मा भएको थियो। तेस्रो चरणमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा भएपछि निर्वाचन गर्ने गरी संविधानसँग बाझिएको निर्वाचन कानुन संशोधन तयारीमा गठबन्धन जुटेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग कुरा गरेका हुन्।
प्रतिक्रिया