खानी उत्खननमा अनियमितता :महानिर्देशकसहित ( कर्मचारी, व्यापारी र कम्पनी विरुद्ध सवा अर्बको भ्रष्टाचार मुद्दा)

काठमाडौं, १२ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर सहित खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे र ९ जना व्यापारीसहित १८ व्यक्ति तथा ९ कम्पनी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ कायम गर्दै विशेषमा मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार गैरकानुनी र तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन् तथा दोहन गरेको आरोपमा ९ वटा सिमेन्ट उद्योगका सञ्चालक र ९ जना कर्मचारी तथा ९ वटा कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

खानीका कर्मचारीसँग मिलेर व्यापारीले तोकिएको भन्दा बढी खानीजन्य पदार्थ उत्खनन् गरेका थिए । छानबिनबाट प्राप्त रिपोर्टका आधारमा व्यापारीमाथि कारबाही गर्न पनि खानीका कर्मचारीले पनि बदनियत गरेका थिए ।

अख्तियारका अनुसार विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशक घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजन मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र भूगर्भविद् सौनक भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी अख्तियारका अनुसार सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्दार्थ निरल्स प्राली, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज प्राली, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कञ्चन क्वेरिज प्राली र डोलोमाइट चुनढुंगा उद्योग प्राली र त्यसका सञ्चालक विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अनुसन्धानबाट ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १र१ लाख रूपैयाँका दरले मात्रै जरिवाना लिने निर्णय नै बदनियतपूर्ण रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले सर्वोत्तमका सञ्चालकविरुद्ध १६ करोड ३१ लाख ८१ हजार ६ सय १६ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यस्तै, सिद्दार्थ मिनरल्सका सञ्चालक पशुपति मुरारका विरुद्ध ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५, मारुतीका सञ्चालक सरद गोयल विरुद्ध २० करोड ५० लाख ६५ हजार ५ सय ७५ रुपैयाँ, अन्नपूर्णका सञ्चालक ऋषि अग्रवाल विरुद्ध ११ करोड १७ लाख २५ हजार ७ सय ५७, उदयपुरका प्रवलजंग पाण्डे विरुद्ध १ करोड ७९ लाख ७१ हजार ७ सय ७६ रुपैयाँ, युनाइटेडका नरेश दुगड विरुद्ध ९ करोड ६९ लाख ४० हजार ५ सय, सोनापुरका निपेश तायल विरुद्ध ६ करोड ९८ लाख ९९ हजार ४ सय १५, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्री विरुद्ध ३ करोड ८ लाख ६९ हजार १ सय ५९ र डोलोमाइटका मानबहादुर श्रेष्ठ विरुद्ध ५ करोड ४३ लाख २१ हजार २ सय बिगो मागदावी गरिएको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति