प्रहरीकै मोटरसाइकल लिएर भागेका कारागारका नाईके पक्राउ

दाङ, १० माघ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ति क्षेत्रबाट समातेको जनाएको छ ।

कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १६ गते नै छुटिसकेका छन् ।छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए ।

प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो । फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका–१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन्।

त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् । सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका(१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति