सुँगुर र बाँदरमा परीक्षण गरिएको चिप मानिसको दिमागमा लगाउने तयारीमा

काठमाडौं, ८ माघ ।  विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागको चिप बनाउने कम्पनी न्यूरालिंकले छिटै नै मानिसमा परीक्षण सुरु गर्ने भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्षघातका बिरामीलाई आफ्नो दिमागबाट छिटो तीव्र गतिमा स्मार्टफोन प्रयोग गर्न सकून् भन्ने आशयका साथमा नयाँ योजना ल्याइएको हो।

मस्कले सन् २०१६ मा यो कम्पनीको स्थापना गरेका थिए। यसअघि नै यो चिपलाई सुँगुर र बाँदरमा परीक्षण गरिएको थियो र सफल पनि भएको थियो। यो प्रविधिलाई मानिसमा प्रयोग गर्न कम्पनीले एक क्लिनिकल ट्रायल निर्देशक भर्ना गर्ने तयारी गरेको छ। मस्कले यो चिपको प्रयोगले बिरामी भएर हिँड्न नपाएका मानिसहरु पनि हिँड्न सक्ने दाबी गरेका छन्।

मस्कले यस वर्षको अन्तिमसम्ममा सबै कुरा भनेको जसरी अघि बढेको खण्डमा उक्त चिपको मानिसमा प्रयोग सुरु गरिने बताएका छन्। योजनाअनुसार मानिसहरुलाई अल्जाइमर, डिमेन्सियाजस्ता समस्याको समाधानको लागि मानव मस्तिष्कमा कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्ने लक्ष्य छ।यो योजनाबाट मानिस र कृत्रिम बौद्धिकता बीचको सम्बन्ध पत्ता लगाउनु यसको दीर्घकालीन योजना हो।

अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ।मस्कले क्लबहाउसमा एक अन्तर्वार्तामा न्यूरालिंक बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरिएको खुलासा गरेका थिए।त्यसपछि बाँदरले आफ्नो दिमागको सहारामा भिडियो गेम खेलेको थियो। यसअघि यो चिप सुँगुरको मस्तिष्कमा पनि प्रत्यारोपण गरेर परीक्षण गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति