काठमाडौं, ८ माघ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो ।
एबीसी न्यूजमा विग न्यूजको लागि बोल्दै डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए ।
उनले भने,‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको बताए । कुनै पनि दल र दलका नेताहरुको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत बताए । सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको बताए । भाइरसलाई भ्रष्टचारीको संज्ञा दिदै उनले भने, ‘भ्रष्टाचारीलाई जतिनै मासियो भनेपनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरुको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनको भनाई थियो ।
कुनै पार्टीको कार्यकर्ता यस्तो अवस्थामा नेताहरुको पछि नलागेर आफ्नो स्वास्थ्यमा ध्यान दिन पर्ने उनले धारणा राखे । आफ्नो र हाम्रो खोप भनेको मास्क हो भन्दै उनले सरकारको खोप भ्याक्सिन भएको सुनाए । सरकारले सबै विद्यालयमा गएर बालबालिकाहरुलाई खोप दिन पर्ने उनको भनाई थियो । भाइरसको कुनै पनि औषधी नहुने भन्दै डा. दिक्षितले जनता आफै सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया