राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच तालमेल

काठमाडौं, ६ माघ । मधेस प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल गर्ने सहमति भएको छ ।बिहीबार एमाले मधेस प्रदेश कमिटी अध्यक्ष औतार यादव र लोसपाका मधेस प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको बताएका हुन् ।

एमालेकी विभा साहले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी थिइन् । घोषणा सभामा नेकपा एमाले केन्द्रीय कमिटीका सचिव रघुवीर महासेठ, एमाले मधेस प्रदेशका सहइन्चार्ज लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य जूलीकुमारी महतो, लोसपा मधेस प्रदेशको संसदीय दलकी उपनेत्री रानी शर्मा तिवारी, प्रमुख सचेतक परमेश्वर साहलगायतको उपस्थिति थियो ।राष्ट्रिय सभामा तत्कालीन प्रदेश २ बाट निर्वाचित एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्रका शशिकला दाहालको कार्यकाल अघिल्लो महिना खाली हुँदैछ । यी दुई पदका लागि एमाले र लोसपाबीच चुनावी तालमेल भएको हो ।एमालेका सचिव महासेठले एमालेको लोसपासँगको सहकार्य अघिल्लो चुनावसम्म पनि जारी रहने बताए । उनले भने‚ ‘एजेन्डाको आधारमा यसअघि पनि हामीले सहकार्य गरेकै हौं ।

आवश्यकताको आधारमा फेरि पनि हुन्छ ।’केपी शर्मा ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानहरूको नागरिकता, मधेसको विकास तथा संविधान संशोधनबारे सकारात्मक पहल गरेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री महासेठले एमाले मधेस र मधेसीको सच्चा हितैसी भएको बताए । महासेठले देउवा नेतृत्वको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराउन नचाहेको आरोप लगाए ।लोसपाका मधेस प्रमुख जितेन्द्र सोनलले लोसपा अध्यक्ष महन्त ठाकुरको आग्रहमा केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता अध्यायदेश, झुठा मुद्दा खारेज तथा संविधान संशोधनका लागि कार्यदल गठन गरेको बताए । उनले भने‚ ‘ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले विधेयकमार्फत नागरिकता समस्या समाधान गर्नुपर्छ भन्नुभएको थियो । उहाँ सरकारमा गएको ६ महिना भयो , खोइ नागरिकता विधेयक ?’ माघ १२ गते १९ जना राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति