उपल्लो डोल्पाको सडकका लागि बजेट थप

जाजरकोट, ५ माघ । भेरी करिडोरअन्तर्गत दुनै–मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउन सहमति जनाएकोे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमणमा जाँदा थप बजेट उपलब्ध गराउन माग भएकाले अर्थ मन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका सचिव कृष्ण केसीले जानकारी दिए ।

भेरी करिडोरका रु एक अर्ब २० करोड बजेट चौरजहारी सडक डिभिजन कार्यालयमा पहिल्यै आइपुगेको त्यहाँका प्रमुख ध्रुवकुमार झाले बताए । पछि थप रु दुई अर्ब १५ करोड अर्थ मन्त्रालयले उपलब्ध गराउने सहमति दिएको भेरी करिडोरअन्तर्गतको यो सडक भारतको रुपैडिया–जमुना नाकाबाट डोल्पाको धो–मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गका रूपमा रहेको छ । भेरी करिडोरअन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडकखण्डको डिपिआरका लागि रु एक अर्ब २० करोडबाट काम भइरहेको र रु दुई अर्ब १५ करोड बजेट अर्थ मन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुस महिनाको दोस्रो साता मन्त्रीस्तरीय निर्णयबाट सहमति भएको जनाइएको छ । बजेटको सुनिश्चितासँगै दुनै–लासिक्याप–धो सडकखण्ड बन्ने निश्चित भएकाले उपल्लो डोल्पाका बासिन्दा खुशी भएका छन् । अर्थ मन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई बजेट सहमति दिएसँगै सडक निर्माणको जिम्मेवारी पनि नेपाली सेनालार्ई दिलाउनुपर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताए ।

भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नका साथै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । कर्णेल विश्ववन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त ११८ किलोमिटर सडक विसं २०७६ मै भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल ११० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ । डोल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जोडिए पनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ ।

बेलीब्रिज निमार्णको काम भने जारी छ । देशको उत्तरी सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिकाभित्रका जनताले नेपालतर्फ सडकको सुविधा नहुँदा वषौँदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म तीन दिन पैदालयात्रा गर्नुपर्ने बाध्यता रहनाका साथै सम्पूर्ण खाद्य र अन्य सामान महङ्गो मूल्यमा उपभोग गरिरहेका छन् । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानैचट्टानले बनेका ठूला पहाडका कारण निर्माणमा ढिलाइ हुने देखिन्छ । स्थानीयवासीका अनुसार अहिले यो बाटोमा जीवन नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने हुन्छ । डोल्पा जडीबुटीको भण्डार भएकाले भेरी करिडोर अर्थात् त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशलगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन । केही वर्षअघि नेपाली सेनाले जाजरकोट–दुनै सडकखण्ड निर्माण गरेकाले लासिक्याप–धो सडकखण्ड पनि नेपाली सेनाले नै बनाउनुपर्ने उपल्लो डोल्पाका जनताको माग थियो तर जनताको अपेक्षा विपरीत सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै–धो सडक निर्माण ओझेलमा परेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित अर्थमन्त्रीसमेतको सहभागितामा उपल्लो डोल्पामा भेलाले प्रतिबद्धता गरेअनुसार दुनै–लासिक्याप–धो सडकखण्डको निर्माणका लागि बजेट स्वीकृत भएपछि अहिले त्यहाँका जनतामा आशाको किरण पलाएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले भने, “माथिल्लो भेगलाई विशेष तरिकाले हेर्नुपर्छ भन्ने हाम्रो पुरानै भनाइ हो । हामीले भनेको कुरा गछौँ भन्ने यो प्रमाण पनि हो । माओवादी पिछडिएको, विकट र समस्यामूलक ठाउँको विकास र निकासका लागि नै जन्मिएको दल हो ।” माओवादीले जति उपल्लो डोल्पा बुझेको छ, त्यो भन्दा बढी कसैले पनि नबुझेको उनको भनाइ थियोे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board