विपदमा सरकार जनतामाझ रहने

विराटनगर, ५ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपदमा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उनले विपदमा जनतालाई सरकारले सचेत र सजग बनाउने बताए । उन्ले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताउँदै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको छ भने । उनले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्या देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गरे । उनले भने, “आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन ।”

आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताए । उन्ले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिन सकोस् शुभकामना दिए । उनले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको हो भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँचवटा बारुणयन्त्रमध्ये दुई वटा बिग्रेको अवस्थामा प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने विश्वास व्यक्त गरे । सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा बर्सेनि आगलागीको घटना हुने गरेको तर दमकलको अभावमा जनताले व्यापक क्षति बेहोर्नुपरेको समस्या अब कम हुने बताए ।

सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक/एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको छ । देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जु गाउँपालिका संयुक्तरूपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनी मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति