सिंहदरबारमा चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई संक्रमण

काठमाडौँ, ३ पुस । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरसको तेस्रो लहरको आक्रमणमा परेको छ ।चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको छ ।

संक्रमित हुनेमा प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिव हुन् ।प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का प्रमुख पनि हुन् । उनलाई संक्रमण भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सचिवहरू होमआइसोलेसनमा छन् ।सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पीसीआर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति