ओमिक्रोन सामान्यतः तीनदेखि पाँच दिनमा निको

काठमाडौ, १ माघ । कोभिड–१९ को तेस्रो लहरमा संक्रमित भएकाहरू सरदर तीनदेखि पाँच दिनमा निको भएको विज्ञहरूको भनाइ छ । खोप नलगाएका र पूर्ण मात्रा लिएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा केही जटिलता देखिएको छ ।

पछिल्लो भेरिएन्ट ओमिक्रोनले धेरैजसोको फोक्सो नभई माथिल्लो श्वासनलीमा संक्रमण गराएर घाँटीमा खसखस, खोकी व्यापक रूपमा गराए पनि यसपटक अस्पताल भर्ना भएकालाई खासै बढी अक्सिजनको आवश्यकता परेको छैन । संक्रमितलाई ज्वरोसमेत निम्नमध्यम स्तर अर्थात् सरदर ९९ डिग्री सेल्सियसदेखि १०० डिग्री सेल्सियससम्म आएको छ ।

पहिलो र दोस्रो लहरताका संक्रमितहरू सामान्यतः १० दिनदेखि १४ सम्ममा निको हुने गरे पनि हाल औसत ३ देखि ५ दिनसम्ममा निको हुने गरेका छन् । यस्तै दोस्रो लहरको दाँजोमा अस्पताल बसाइको अवधिमा समेत कमी आएको छ ।

‘हाल खोप नलगाएका वा पूर्ण मात्रा लगाएको ६ महिनाभन्दा बढी समय भएकाहरू मात्र तेस्रो लहरको संक्रमणमा गम्भीर बिरामी भएको देखिएको छ,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा.प्रज्ज्वल श्रेष्ठले भने, ‘अब दुई मात्रा खोप लगाएर पुगेन, ६ महिनाभन्दा बढी भएकालाई जटिलताबाट जोगाउन बुस्टर डोज आवश्यक देखिएको हामीकहाँ भर्ना भइरहेका बिरामीको मेडिकल हिस्ट्रीले देखाएको छ ।’ उनका अनुसार अस्पतालमा भर्ना भएकामा दुई मात्रा खोप लगाएको ६ महिना नाघिसकेकामा जटिलता देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board