सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन ।

सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

विसं २००५ जेठ १५ मा जन्मिएका शाहीको आज नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका स्व. शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। शाहीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board