सरकारको ६ महिना पूरा : देउवाजस्तै सरकार, आफ्नो स्वकीय सचिवालय र सल्लाहकार समूहसमेत गठन गर्न सकेनन्

काठमाडौं, २९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ ।गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा देखिने र सम्झनलायक खासै काम हुन नसकेको भन्दै आलोचना भएको छ ।देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै तीन महिना लाग्यो ।

त्यसपछिका तीन महिना प्रधानमन्त्री देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिए । पार्टी महाधिवेशन सकिए पनि प्रधानमन्त्रीको कार्यशैली सुध्रन नसकेको कांग्रेसकै नेताहरु बताउँछन् । कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि महामारी नियन्त्रणमा सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन । खोप हुँदासमेत खोप अभियान सुस्त छ ।परीक्षणको दायरा र खोपको पहुँच बढाउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । यस्तै बलियो प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन नसक्दा सरकारले संसद् बैठक चलाउन सकेको छैन । संसद् अवरुद्ध हुँदा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसो त सत्ता गठबन्धनभित्रै एमसीसीको विषयमा साझा धारणा बनेको छैन ।सर्वोच्च अदालतमा भइरहेको आन्दोलनले न्यायालयमाथिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ । तीन राज्यमन्त्रीसहित १९ मन्त्री सरकारमा सहभागी हुँदासमेत नागरिकले अनुभूति हुनेगरी कुनै काम हुन नसकेको विश्लेषकहरूको ठम्याइ छ ।

साउन २४ मा घोषणा भएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अलपत्र छन् । नेपाली भूमि कालापानीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिँदासमेत सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।सीमा समस्या कुटनीतिक ढङ्गबाट सुल्झाउँदै छिमेकी देशसँगको सम्बन्ध सुधार गर्ने नीति कार्यक्रम भए पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन । यस्तै पालिकाको चुनाव गर्नुपर्ने समय नजिक आइसक्दासमेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ । निर्वाचन आयोगले आउँदो वैशाख १४ गते पालिकाको चुनाव गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

एकै पटक सम्भव नभए वैशाख १४ र २२ गते चुनाव गर्न उपयुक्त हुने आयोगको सुझाव छ । तर सरकारले यसबारे निर्णय गरेको छैन । सरकारले निर्णय गर्न ढिलाइ गरेपछि आयोगले भोलि सर्वदलीय बैठक बोलाएको छ ।

देउवाले आफ्नो स्वकीय सचिवालय र सल्लाहकार समूहसमेत गठन गर्न सकेका छैनन् । उनका भतिजा भानु देउवामात्र प्रमुख स्वकीय सचिवका रूपमा नियुक्त भएका छन् । केही व्यक्तिले अनौपचारिक रूपमा स्वकीय सचिवालयमा सदस्यको काम गरिरहेका छन् ।

स्थानीय निर्वाचन गर्नुपर्ने समय नजिकिइसक्दा समेत सरकारले त्यसमा चासो नदिएकोमा आलोचना भइरहेको छ । देउवानिकट नेताहरूले भने उनको ध्यान आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर पुनः प्रधानमन्त्री बन्नेमा केन्द्रित रहेको दाबी गरेका छन् । यसका लागि जसरी उनले पार्टी महाधिवेशनमा आफूलाई केन्द्रमा राखेर रणनीति बनाएका थिए, ठीक त्यसैगरी राष्ट्रिय राजनीतिको सन्दर्भमा रणनीति बनाएको उनी निकटस्थको भनाइ छ ।

राजनीतिक विश्लेषकहरु पनि देउवाको ध्यान चुनावबाहेक अरूमा नरहेको बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board