काठमाडौं , २८ पुस । नेपाली श्रमिकहरुलाई इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन सुरु हुने भएको छ। सरकारमार्फत् त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका १२५ जना सहायक कामदारहरु माघ ५ गते पहिलो पटक नेपाली श्रमिककोरुपमा इजरायल जाने भएका हुन्।
इजरायलले सम्पूर्ण प्रक्रिया पुरा गरेर नेपालले उपलब्ध गराएका १ हजार ६ सय श्रमिकमध्येबाट १ हजार १ सय ७५ जना श्रमिक छनोट गरेकामध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ भने १ सय ४३ जनाको भने भिसाको प्रक्रिया पनि पुरा भएको साथै श्रमिकसँग सम्झौता भइरहेको र सोमबार मात्रै थप ५० जनाको करार सम्झौता भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम् इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए। ८ सय २१ जना महिला र ३ सय ५४ जना पुरुष इजरायल जानेको सूचीमा रहेका छन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको हो।
वैदेशिक रोजगार विभागले मंगलबार दिउँसो ३ बजेभित्रमा इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका १ देखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्नभनेको हो। १२५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्ने छन्। टिकट पहिला लिनेलाई प्राथमिकता दिने विभागले जनाएको छ।
इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सम्पूर्ण खर्च जस्तै इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो। टिकटमा ५९ हजार ९ सय ९० रुपैयाँ लाग्नेछ। टिकट बिक्रीको टेन्डर पाएको सी लिंक्स होलिडे कम्पनीबाट मात्रै उनीहरुले टिकट खरिद गर्नुपर्नेछ। सहायक कामदारका रुपमा जाने नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन्। इजरायलको वर्तमान तलप व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय १ हजार ६ सय अमेरिकी डलर) मासिक कमाइ हुनेछ।
सुरुमा सूचीमा भएका श्रमिकलाई लगिसकेपछि इजरायलले अरु बारे निर्णय गर्ने बताउँदै आएको छ।
प्रतिक्रिया