काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ ।
अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।
अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदो माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।
यस्तै पालिकासँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ ।
शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।
यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।
कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने प्रशासनले जनाएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
COMMENTS