ललिता निवास प्रकरणमा सरकारी वकिल कार्यालयले ६५ बुँदामा यस्तो लेखेर पठायो प्रहरीलाई

काठमाडौं, २७ पुस । बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार प्रहरीमै फर्काएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि बुझाएको अनुसन्धान प्रतिवेदन अपुरो भएको भन्दै जिल्ला सरकारी वकिल कार्यलयले प्रहरीमै फिर्ता गरेको हो।सरकारी वकिलले अनुसन्धानका थुप्रै बुँदामा थप प्रमाण खोज्नुपर्ने भएकाले प्रतिवेदन प्रहरीमा फर्काएको हो।केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सरकारी वकिल कार्यालयले ६५ वटा बुँदामा लेखेर पठाएको बताए।ती बुँदामा जुटाइएका कागजातहरूको फरेन्सिक परीक्षण, तत्कालीन अवस्थामा कायम भएका मोहीहरूको ठेगाना खोज्न भनेको सिंहले बताए। ‘२०१२/२०१४ सालदेखिका मोही, त्यसपछिका गुठियार अहिले कहाँ छन्, उनीहरूलाई पत्ता लगाउन भनिएको छ,’ सिंहले भने, ‘हामी अब पुराना कुराहरू खोजेर अनुसन्धान प्रतिवेदन पुन बुझाउँछौं।’

धेरै वर्षअघिका मोही तथा गुठियारहरू पत्ता लगाउन भने कठिन रहे पनि सकेसम्म प्रमाण संकलन गरिने उनले बताए।‘प्रमाण जुटाउने काम हाम्रो हो, सकेसम्म हामी अनुसन्धानमा खोजिएका प्रमाण खोज्छौं,’ सिंहले भने।जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदनमा केही प्रमाण समेट्नुपर्ने आवश्यकता देखिएकाले पुनस् अनुसन्धान गर्न ब्युरोमा फाइल पठाइएको बताए। ‘मुद्दा नचलाउने प्रपञ्च हो कि भनी भ्रामक हल्ला चलेका छन्, त्यस्तो हुँदै होइन, प्रहरीले अनुसन्धान गरेर मागिएका प्रमाणहरू ल्याएपछि मुद्दा चल्छ,’ पौडेलले भने।केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ गते ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। ब्युरोले दुई वर्ष लगाएर ललिता निवासको अनुसन्धान गरेको थियो। अनुसन्धानमा ‘हाई प्रोफाइल’सहित तीन सय बढी व्यक्ति तानिएका छन्। नेतामा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति