राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति भण्डारीको सन्देश

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन् ।

नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

सन्देशमा अगाडि भनिएको छ, ‘तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन् ।’

पृथ्वीनारायण शाहको सम्झना

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि।सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी, विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।उनै पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औं जन्मजयन्ती मनाइँदैछ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहान ११ बजे भृकुटीमण्डपमा ¥यालीसहित समारोह आयोजना गरेको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board