काठमाडौं, २६ पुस । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले देशभरी नै जनस्वास्थ्यका मापदण्ड कडाई गर्न थालेको छ ।
गृहमन्त्रालयले सोमबार २५ जनाभन्दा बढी भेला हुने मेला, सभा, सम्मेलन तथा महोत्सव सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ । मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै गृहले यस्तो निर्देशन दिएको हो ।
आइतबार कोभिड १९ संकट व्यवस्थपन समन्वय केन्द्र सीसीएमसीले गरेको सिफारिस अनुसार गृहले सोमबार निर्णय गरेको हो ।
मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्न निर्देशन दिएको छ ।
यस्तै अत्यावश्यक नियमित कार्यक्रम गर्नुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
गृहको परिपत्रमा भनिएको छ, ‘मन्त्रालयले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्नु ।’
COMMENTS