अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने अभ्यासमा नेकपा एमाले : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने गलत अभ्यासमा नेकपा एमाले उभिएको आरोप लगाएका छन्। ताप्लेजुङमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आङ्देम्बेले एमालेलाई संसद् अवरोध हटाएर जनताका साझा मुद्दामा छलफल केन्द्रित गर्न आग्रहसमेत गरे।

उनले ६ महिनाको बीचमा दुई–दुईपटक संसद् विघटन गरेर संसदमा देखिएको गतिरोधले जनताका आधारभूत आवश्यकताको छलफल गर्ने थलो बन्धक बनेको उनको भनाइ थियो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं विपक्षी दल एमाले अध्यक्षको निवासमै गएर संसद्को गतिरोध हटाउन आग्रह गर्नुले सरकार संसद् खुलाउने अधिकतम प्रयासमा जुटेको देखिइरहेको उनले प्रस्ट पारे। जनताका सार्वभौम प्रतिनिधि छलफल गर्ने थलो संसदलाई सधैँभरि बन्धक बनाउन नहुने भएकाले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे। राजतन्त्रको पक्षमा वकालत गर्दै आएको समूहप्रति लक्षित गर्दै आङ्देम्बेले वंशवादलाई उदिन्ने प्रयास भइरहे पनि नेपालका राजनीतिक दल र नेपाली जनताले त्यो षड्यन्त्र विफल बनाइदिने चेतावनी दिए।

कांग्रेसको राष्ट्रिय महाधिवेशनले नयाँ र पुराना पुस्ताबीचको मिश्रणको आधार दिएको उनले बताए। एमाले र माओवादीको राष्ट्रिय महाधिवेशन यथार्थमा लोकतान्त्रिक हुन नसकेको टिप्पणी गर्दै उनले भने, ‘ती त नेताका खल्तीबाट नाम पढेर सुनाइएको एउटा लघु पुराणजस्तै हो।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board