काठमाडौँ, २६ पुस । नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार मन्त्री आलेलाई प्रतिवेदन बुझाएका हुन् । छानबिन समितिले नारायणहिटी विकास समितिले बी. म्यानेजमेन्ट प्रा.लि. लाई पत्राचार गरी अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न र समितिसँग समन्वय नगरी निर्माण गरेका र सम्झौतामा उल्लेखित क्षेत्रभन्दा बढी क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरु हटाउन अनुरोध गरेको बताएको छ ।
क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ । समितिको प्रतिवेदनमा भनिएको छ, क्यान्टिनरक्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन र क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ ।नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरेको नदेखिएको पनि समितिको निष्कर्ष छ ।
त्यस्तै सम्झौताविपरीत बी। म्यानेजमेन्ट प्रा.लि. ले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेको नपाइएको पनि समितिको ठहर छ ।
समितिको प्रतिवेदनमा भनिएको छ, निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन । त्यस्तै समितिको निर्णय एवं प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशकबाट बी म्यानेजमेन्ट प्रा. लि. सँग सम्झौता गरेको देखिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

COMMENTS