झारफुकको क्रममा किशोरीको मृत्यु, माता भनिने झाँक्री पक्राउ

काठमाडौँ, २५ पुस । काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्कीस्थित उपचार गराउन भन्दै झारफुकका लागि राखिएकी १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक चौतारा नगरपालिका–२ बतासे घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।किशोरीको मृत्युपछि झारफुक संचालक माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको छ ।

मृतक किशोरीको शरीरमा निलडामहरू देखिएको प्रहरीको भनाइ छ ।ती किशोरीलाई टाउको दुख्ने समस्या भएपछि कथित माताकहाँ पुर्‍याएको पारिवारिक श्रोतले जनाएको छ । माता भनिने ठकुरीले धेरै बिरामीहरूलाई ठीक पारेको भन्ने विश्वासमा झारफुक केन्द्रमा ती किशोरीलाई २१ दिनअघि नै आमा राधिका श्रेष्ठले लगेकी थिइन् ।

‘यहीँ बसेर उपचार गराउँदा चट्टै ठीक हुन्छ, तपाईंकी छोरी मेरै छोरी सरह हो, छोडेर जानुस् भनिन्,’ मृतक किशोरीका आमा राधिकाले भनिन्, ‘छोडेर आएँ । कुटेरै मारी ।’ परिवारका अनुसार गणेश मावि नगदेश कक्षा ६ मा अध्ययनरत रोशनीको पुस २२ गतेदेखि आन्तरिक परीक्षा थियो । परीक्षा दिनका लागि भन्दै उनकी आमा राधिका झारफुक केन्द्रमा लिन गइन् । तर, माता भनिने ठकुरीले परीक्षाभन्दा ठूलो कुरा स्वास्थ्य भएको भन्दै पठाउन मानिनन् । ‘छोरीले परीक्षा दिने ममी जान्छु भन्दै थिइ, उनले आउन दिइनन्,’ उनले भनिन् ।

शनिबार बिहान रोशनी बेहोस भएको जानकारी परिवारलाई गराइएको थियो । परिवार नागार्जुन पुगेपछि मात्र किशोरीलाई मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्‍याइएको थियो ।

अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरी वृत्त स्वयम्भू प्रमुख डीएसपी मिलन केसीले बताए ।माता भनिने ठकुरीलाई कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको लागि म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । मृतक किशोरीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मृतकको पोष्टमार्टम भइसकेको तर रिपार्ट आइनसकेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति