काठमाडौं, २५ पुस । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउन थालिएको छ ।
स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् ।
छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्न सक्ने बताइन् । संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको उनले जानकारी दिइन् ।
त्यसका लागि आज दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो । यद्यपि उक्त बैठकका निर्णय सार्वजनिक भएका छैनन् । बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् ।
तै पनि जिल्लाभित्र आ–आफ्नो ढंगले काम गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले तयारी अघि बढाएका छन् ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएको जानकारी दिए ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने उपत्यकाका प्रजिअहरुको संयुक्त बैठकको मिति र समय तय नभइसकेको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयलमा ललितपुर र भक्तपुरको जस्तो छुट्टै बैठक बोलाइएको छैन ।
प्रतिक्रिया