प्रचण्डलाई कोरोना संक्रमण : प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौँ, २४ पुस । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डसँगै माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ । सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा प्रचण्डलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो ।

प्रचण्डशुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए ।माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।कांग्रेस उपसभापति खड्का भने माओवादी अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि भइसकेपछि आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।दाहालको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी एन्टिजेन र आरटी–पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,ु दाहालको सचिवालयले भनेको छ, यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ ।

दाहाल निवास खुमलटारमा बस्दै आएका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । जसमा उनका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भेटिएको थियो । दाहाललाई ज्वरो आएको थियो भने मल्ललाई खोकी लागेको बताइएको छ ।

त्यसअघि दाहाललाई बधाई दिन आएका र उनीसँग बैठकमा रहेका नेता तथा कार्यकर्ताहरूलाई कोरोना संक्रमण भेटिएको थियो । ८ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीबाट दाहाल अध्यक्षमा पुस १९ गते निर्विरोध चयन भएका थिए । त्यसपछि दाहाल निवासमा बधाई दिनेको भीड लागेको थियो ।

दाहालसँग निरन्तर सम्पर्कमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु ९क्रान्तिकारी०की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोन संक्रमण भएको छ । यी नेताहरू पछिल्लो समय दाहालको सम्पर्कमा रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति