बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२३ पुस ।  पछिल्लो तीन दिनमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्ला दिनहरुमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए ।भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको ढकालले बताए । तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । भारतका नयांदिल्ली, कोलकत्ता, बनारस लगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ ।

संक्रमण दर बढेसंगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान सांघुरो हुंदा परीक्षणमा समस्या भएको ढकालले बताए । एन्टिजेट परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरेका छन् । अहिले नाकामा एन्टिजेन परीक्षणका लागि जनशक्ति पर्याप्त रहेको ढकालले बताए । बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति