काठमाडौं, २२ पुस । बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा अनिवार्य पीसिआर टेष्ट गर्नुपर्दछ । आउँदो शुक्रबार बिहान ४ बजेबाट पूर्ण रुपमा खोप लगाएकाहरुले इंग्ल्याण्ड आउँदा पीसीआर टेष्ट गर्न नपर्ने भएको छ ।
अनिवार्य पीसीआर टेष्टका कारण इंग्ल्याण्ड आउन निरुत्साहित भएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमबाट यात्रुलाई थप सहज हुने बताएका छन् ।यसैगरी इंग्ल्याण्ड आइसकेपछि दोस्रो दिनमा गर्नुपर्ने अनिवार्य पिसिआर टेष्टलाई खारेज गरेर सस्तो र सहज उपलब्ध ‘ल्याटेरल फ्लो टेष्ट’ गर्न सकिने छ । यो नियम आइतबार बिहान ४ बजेबाट लागू हुनेछ ।हालको नियम अनुसार इंग्ल्याण्ड आइसकेपछि कोभिड टेष्टको परिणाम प्राप्त नभएसम्म घरैमा आइसोलेसनमा बस्नुपर्ने नियम छ। आइतबारबाट इंग्ल्याण्ड आउने यात्रुहरुले यस्तो किसिमको झंजटबाट मुक्ति पाउनेछन् ।
तर, बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा भने छुट्टै नियम छ ।बेलायतमा कोरोना संक्रमण बढेपनि खोपको प्रभावकारीताका कारण कम असर भएको भन्दै सरकारले बुस्टर डोजलाई थप तीव्रता दिँदै आएको छ । प्राप्त पछिल्लो अध्ययन अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन निकै संक्रामक भएपनि यसको असर यसअघिको डेल्टा भेरिएन्ट भन्दा कम रहेको बताइएको छ । बेलायतमा मंगलबार एकैदिन झन्डै दुई लाख बीस हजार जना संक्रमित भएका थिए । यो संख्या महामारी यताकै सबैभन्दा बढी हो । अत्यधिक रुपमा संक्रमण फैलिएपछि यहाँको स्वास्थ्य क्षेत्र निकै प्रभावित बनेको छ । कोरोना संक्रमणका कारण दर्जनौं अस्पतालमा कर्मचारीको अभाव भएका कारण संकटको अवस्था सिर्जना भएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा एक लाख ९४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोनाका कारण २४ घण्टाभित्र ३३४ जनाको मृत्यु भएको छ । मृतक संख्या पनि निकै बढेको हो । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार २८४ पुगेको छ ।संक्रमण बढेसँगै बेलायतमा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएको छ । सरकारद्वारा जारी पछिल्लो तथ्यांक अनुसार ९०।२ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ८२।२ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । यसैगरी, ६० प्रतिशत भन्दा बढीले तेस्रो अर्थात बुस्टर डोज लगाइसकेका छन् ।
प्रतिक्रिया