काठमाडौं, २१ पुस । एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ । संस्कृति बचाउ अभियानले बुधबार भक्तपुरको बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो ।
अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन ।
यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीले भने । उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए । भेटमा ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे ।
उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको समेत बताए । अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दावी गरे ।
प्रतिक्रिया