फस्टाउँदै बङ्गुरपालन व्यवसाय

बागलुङ, २१ पुस । सुन्दर भविष्यकाे सपना पूरा गर्न विदेश छिर्ने भिडबाट हटेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण रहेका छन् । यस बीच थाेरै लगानीमा आम्दानी हुने बङ्गुरपालन व्यवसाय फस्टाउँदैछ । यसरी आफ्नाे जीवनस्तर उकास्नका लागि गरिने व्यवसायमा एक बङ्गुरपालन पनि परेकाे छ ।

विदेशको सपना लत्याउँदै २९ वर्षीय मिलन रानाले बङ्गुरपालनमा भविष्य खोजे । उनकाे एक सय ७० बङ्गुर पाल्ने क्षमता भएकाे पशुपक्षी फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उनले रु २१ लाख लगानी गरेका छन् । गत भदौ यता बङ्गुर बेचेर चार लाख जति कमाइ भित्राएको उनले बताए । बङ्गुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन् । मासुका लागि बेच्दा प्रतिकिलो तीन सय ७० सम्म पर्छ । महिनादिन पुगेका पाठापाठी भने छ हजारमा बिक्री हुने गरेको किसान बताउँछन् । माउ बङ्गुरले एकै बेतमा १६/१७ वटासम्म पाठापाठी पाउँछ । “फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बङ्गुर मासुका लागि बजार जान्छ”, व्यवसायी रानाले भने, “बजार माग बढ्दै गएकाले बङ्गुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ ।” उनले चलिरहेको फार्म किनेको बताए । बङ्गुर फार्मसँगै उनको ब्लक उद्योगमा रु ३२ लाख जति लगानी गरेका छन् जसमा छ जनालाई रोजगारी पनि दिएका छन् ।

फार्मका सञ्चालक कमला थापा पनि श्रीमान जंगबहादुरसँगै बङ्गुरपालनमा रमाइरहेका छन् । “आफ्नै मासु पसल पनि भएकाले बङ्गुर बेच्न सहज छ, पाठापाठीबाट पनि राम्रो कमाइ हुन्छ” उनले भने, “हामीसँगै कुश्मीसेरा बजार आसपासमा १५ बढी किसान बङ्गुरपालनमा लाग्नुभएको छ, व्यवसायबाट सबै खुसी हुनुहुन्छ ।”

मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । अहिले गाउँगाउँमा व्यावसायिक रुपमा बङ्गुर पाल्ने क्रम बढेको उनको अनुभव रहेकाे छ । पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन् । न्यून पूँजी भएका किसानले पनि बङ्गुरपालनबाट वर्षमा चार/पाँच लाख रुपैयाँ कमाउन थालेका छन् । थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन रोजाइमा पर्न थालेको हो । किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ । दर्ता भएका र मापदण्ड पूरा गर्ने बङ्गुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत २५ हजार सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बङ्गुरपालन व्यवसायमा छन् तर व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम रहेकाे बताए ।


जैमिनी–१० को राङखानी बङ्गुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ । जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बङ्गुरपालन व्यवसाय फस्टाउँदो रहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति