महाधिवेशनमा पौडेलले देउवालाई नै सहयोग गरेको कोइराला समूह निष्कर्ष

काठमाडौं, २१ पुुस । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टीको कामकारबाही अघि बढाएको भन्दै आफूनिकटका नेतासँग छलफल गरेका छन् ।

मंगलवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको कोइराला समूहको छलफलले सभापति देउवाले केन्द्रीय सदस्य नियुक्ति गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको टिकट वितरण गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएको हो । ‘आज बैठक भन्दा पनि छलफल भएको हो । सभापतिजीलाई हामी मन, बचन र कर्मले सहयोग गन चाहन्छौँ,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘निर्वाचनमा उहाँविरुद्ध लड्यौँ, हामी हार्‍यौँ । अब मत विभाजन हुन नदिऔँ भन्ने हाम्रो भनाइ हो । पहिलो चरणमा दोस्रो चरणमा जुन मनोनीत गर्नु भयो त्यो एकलौटी भयो भन्ने हाम्रो निष्कर्ष हो ।

राष्ट्रिय सभाको सन्दर्भमा अगाडि नै छलफल हुनुपर्ने हो भएन ।’ देउवाले गरेका निर्णयले शशंकित भएको केसीको भनाइ छ । ‘ यस्ता कुरा गम्भीर ढंगले एकलौटी रुपमा जान लागेकोले हामी शशंकित छौँ,’ उनले भने, ‘हामी स्थानीय निर्वाचन, संघीय निर्वाचन र पार्टीमा देखिएका चुनौती सामना गर्न हामी सहकार्य गर्न चाहन्छौँ ।

सहमतिपूर्ण यात्रामा जान चाहन्छौँ ।’ उनले राष्ट्रिय सभाको टिकट वितरण गर्ने प्रक्रियामा पनि आफूहरुको सहमति नरहेको बताए । ‘राष्ट्रिय सभाको टिकट बाँड्ने प्रक्रियाप्रति सन्तुष्ट छैनौँ,’ उनले भने, ‘भागबन्डा अंश बन्डा कुरा होइन । राजनीति भन्या साझेदारी हो । पहिलो चरण, दोस्रो चरणको नियुक्ति हेर्दा एक्लै जाने भन्ने देखिएको छ । यो राम्रो संकेत होइन ।’केसीले वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४ औँ महाधिवेशनमा तटस्थ नबसेको रिपोर्ट अन्य नेताहरुले गरेको पनि सुनाए ।

‘रामचन्द्र पौडेल महाधिवेशनमा तटस्थ बसेकै हो भनेर म भन्दै आएको थिएँ । तर, अहिले भरखर साथीहरुको रिपोर्ट शेरबहादुर देउवालाई नै सहयोग गरेको भन्ने छ’ उनले भने । आजको‍ छलफलमा केसीसँगै उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य बलबहादुर केसी सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति