सरकार शासक होइन सेवक होः मन्त्री कार्की

विराटनगर, २० पुस । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराशा बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिन भएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भने । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए ।

उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने समूहको गतिविधिलाई निस्तेज पार्ने बताए । उनले प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गर्ने भन्दै विपद् व्यवस्थापनमा जनतालाई पनि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानुनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने भन्दै प्रदेशका कानुन अदालत र बारसम्म पुर्‍याउनु आवश्यक देखिएको धारणा राखेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board