नक्सा पास नगरि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट

काठमाडौँ, २० पुस । ऐतिहासिक महत्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार निजी तथा सरकारी जग्गामा कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास अनिवार्य गरिएको छ ।

तर नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य जारी छ । महानगरपालिका वडा नम्बर–१ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो ।त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् । नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामको कम्पनीलाई भाडामा दिइएको सङ्ग्रहालयकै कर्मचारी बताउँछन् । उक्त कम्पनी बतास समूहअन्तर्गतको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति