राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीका उम्मेदवार को को नामसहित

काठमाडौँ, २० पुस । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो ।यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।

तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ ।त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति