हिमपातमा जंगलमै फसेका बाबुछोरा हिँडेरै बस्ती फर्किए

ताप्लेजुङ, २० पुस । हिमपातका कारण पुस १४ गतेदेखि जंगलमै फसेका मिक्वाखोला गाउँपालिका–५ पापुङका लाक्पाटासी र उनका छोरा पासाङ शेर्पा हिँडेरै बस्ती फर्किएका छन् । हिउँ पहिरोले चौंरी, याक बगाएको र आफूहरु ओडारमा बसेको बताएका उनीहरुले हेलिकोप्टरबाट उद्धार गरिदिन टेलिफोनबाट आग्रह गरेका थिए ।

उनीहरुको आग्रहपछि वडाध्यक्ष डण्डु शेर्पाले अल्टिच्युट एयरको हेलिकोप्टर भाडामा लिइ शनिबार र आइतबार खोजेका थिए । दुवै दिन नभेटिएपछि उनीहरुको खोजीका लागी गाउँका तीन जना युवालाई हेलिकोप्टरले गोठ भएको क्षेत्रमा छोडेको छ । उनीहरु भने फर्किएका छैनन् । खाद्यान्न, कपडा बोकेर गएको र मौसम पनि राम्रै भएकाले फर्केर आउने अपेक्षा गरिएको वडाध्यक्ष शेर्पाले बताए । टेलिफोन सम्पर्क भने उनीहरुसँग पनि हुन नसकेको उनले बताए ।

यो क्षेत्रमा टेलिफोन कम सम्पर्क हुने गरेको छ । हेलिकोप्टर मगाएका बाबुछोराले आफूहरुलाई खोज्न आएको हेलिकोप्टर देखेको तर यहाँ छौं भनेर संकेत दिन नसकेको बताएको वडाध्यक्षले जानकारी दिए । ‘हिउँले ढाकियो, चौंरीहरु पनि हराए । मानसिक समस्या भयो जस्तो लाग्यो,’ वडाध्यक्ष डण्डुले भने, ‘कहिले हेलिकोप्टरभन्दा माथि थियौं भन्नुहुन्छ कहिले तल खोलामा थियौं भन्नुहुन्छ ।’ बाबुछोराकै शारीरिक अवस्था भने ठिक रहेको वडाध्यक्षले बताए ।

जंगलबाट झर्ने क्रममा हाइड्रोपावर कम्पनीले छोडेको खानेकुरा बाटामा भेटेपछि त्यही खाएर सोमबार बेलुका बस्तीमा निस्किएको छोरा पासाङले सुनाएको वडाध्यक्षले बताए । राति ओडार खोज्दै बस्दै गरेको र दिउँसो हिँडेको पाइएको डण्डु बताए । १४/१५ वर्ष उमेरका भनिएपनि पासाङ १२ वर्षको मात्रै भएको डण्डुले बताए । हराएका चौंरी र याकको बारे हिउँ पग्लिसकेपछि मात्रै पत्ता लाग्ने उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति