काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो गृहजिल्लामा प्रहरीबाट पिर्के सलामी ग्रहण गरेको विषयले सामाजिक सञ्जाल तताइरहेको छ । सत्ताबाहिर हुँदा यस्तो प्रचलनको विरोध गरेकी झाँक्री आफू मन्त्री भएपछि दोहोरो चरित्र देखाएको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।मन्त्री झाँक्रीलाई गृहजिल्ला मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालयमा पिर्के सलामी प्राप्त भएको थियो ।
पाँच प्रहरीे लागेर दिएको सलामी रातो कपडा ओछ्याइएको पिर्कामा उभिएर उनले ग्रहण गरेकी थिइन् । उक्त पिर्के सलामीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।उनै झाँक्री हुन् जसले दुई वर्ष अगाडि स्थानीय तहमा पिर्के सलामी दिइएको तस्वीर पोष्ट गर्दै मजाक बनाएकी थिइन् ।
त्यसबेला उनले लेखेकी थिइन्, ‘यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलार्ई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे ।’
उनले कुर्सीमा उभिएर सलामी खाएको तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्, ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।’

झाँक्रीको त्यो पुरानो स्टाटसलाई उत्खनन गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । सत्ताबाहिर हुँदा आदर्शको कुरा गर्ने र मन्त्री भएपछि राजशी ठाँट देखाउने ढोंगी नेतृको रुपमा उनलाई धेरैले चित्रित गरेका छन् ।
आलोचनापछि झाँक्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै यो विषयलाई सामान्य रुपमा लिन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सामाजिक सञ्जालमा आलोचना हुनछ भन्ने पनि थाहा थियो । तर, यो कुनै आलोचनाको विषय भने होइन । काननअनुसार राज्यको एउटा अंगले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’
प्रतिक्रिया