काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत पुनः सुरु गरिएको बन्दसत्र बैठक सुरुवात भएलगत्तै स्थगन गरिएको छ। यसअघि विधान पारित गरी स्थायी कमिटी बैठक सकिएलगत्तै बन्दसत्र सुरु गरिएको थियो। छलफल गर्न भन्दै नेताहरूले बन्दसत्र बैठक स्थगन गरेका हुन्। प्रदेश–प्रदेशका इन्चार्जहरु छलफलमा जुटेका छन्।बन्दसत्र बैठक सुरु भएअलगत्तै सो सूचना दिइएको प्रतिनिधि अनिलकिशोर घिमिरेले बताए। प्रदेशबाट केन्द्रीय सदस्यको नाम सिफारिस गर्न नेताहरू छलफलमा जुटेका हुन्।क्लस्टर मिलाएर नाम सिफारिस गर्नुपर्ने छ। अब बन्दसत्र बैठक बेलुकी ५ बजे बस्ने बताइएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा यही पुस ११ देखि माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ। जारी बन्दसत्रले आजै नेकपा माओवादी केन्द्रको विधान संशोधनसहित विधान पारित गरेको हो। संशोधित विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी सदस्य रहनेछन्।
तीमध्ये १५ प्रतिशत मनोनयन हुनेछन्।पदाधिकारी संख्या केन्द्रीय समितिले निर्धारण गर्नेछ।सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिनेगरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो।विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको हो। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।
प्रतिक्रिया