काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सबै समूहको समर्थन रहेको दाबी गरेका छन्।
प्रतिवेदनमा छलफलका लागि गठित २५ समूहले आफ्ना राय, सुझाव, टिप्पणी पेस गरिसकेपछि महाधिवेशनस्थलमा अध्यक्ष प्रचण्डले बिहीबार साँझ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो दस्तावेजप्रति सबै नेतारकार्यकर्ताको समर्थन रहेको बताएका हुन्। यस क्रममा पत्रकारले उनलाई लेखनाथ न्यौपानेले त १० बुँदामा फरक मत राख्दै निकै कडा बोल्नुभएछ नि भनी प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले भने, ‘केही कडा छैन, मैले हेरिसकेँ, दस्तावेजप्रति सबै ग्रुपको आम रूपमा समर्थन छ। त्यसलाई परिमार्जन गर्न के गर्नुपर्छ भन्ने पनि सबै ग्रुुपले सुझाव दिएका छन्।
यहाँ यहाँ सुधार गर्नुपर्छ भनेर यहाँ पुग्या छैन, यहाँ पुग्या छ भन्ने पनि छ। दस्तावेजको मूल स्पिरिटप्रति जोडदार समर्थन छ।’ अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनका विषयमा प्राप्त सुझावमा त्यस्तो विवाद हुने खालको एउटा पनि कुरा नभएको दाबी गरे।
‘त्यस्तो विवाद हुने खालको एउटा पनि छैन, तपाईहरु कोही भ्रममा नपर्नुहोला’, प्रचण्डले भने, ‘दस्तावेजलाई परिमार्जित गर्न सहयोग पुग्ने ढंगले राख्नुभएको छ सबै कमरेडहरूले।’महाधिवेशन एकदमै व्यवस्थित र अनुशासित रूपले जस्तो किसिमले कार्यक्रम बनाइएको त्यस्तै किसिमले अगाडि बढिरहेको पनि प्रचण्डले बताए। अब आज प्रचण्डले ती २५ समूहले उठाएका प्रश्नबारे जवाफ दिने कार्यक्रम छ।
प्रतिक्रिया