काठमाडौं,१४ पुस । माओवादीको आठौं महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहको निष्कर्ष सुनाइँदै छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा दिउँसो एक बजेदेखि सुरु हुने बन्द सत्रमा २५ वटा समूहका नेताहरुले आफ्ना निष्कर्ष पेस गर्नेछन् ।
अध्यक्ष प्रचण्डले सोमबार ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।प्रतिवेदन छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको २५ वटा समूह बनेको थियो । समूहले मंगलबार दिनभरि र बुधबार बिहान निष्कर्ष तयार पारेका छन् ।
उक्त निष्कर्ष सबै प्रतिनिधि सहभागी बन्द सत्रमा सुनाउन लागिएको हो ।२५ वटै समूहले पार्टीको आगामी कार्यदिशालाई लिएर अध्यक्षले ठोस कार्यदिशा तय नगरेको भन्दै सच्याउन लगाउने बताएका छन् । पार्टीको अबको राजनीति, संगठन कस्तो हुने भन्नेबारे अध्यक्ष प्रचण्डको दस्तावेजले स्पष्ट नपारेको उनीहरुको निष्कर्ष छ ।एमसीसी परियोजना लगायत अन्य शीर्षकमा भने समूहको मिश्रित निष्कर्ष आएको छ । कोहीले एमसीसी पारित हुनुपर्ने, कोहीले यो संशोधनसहित पारित गर्नुपर्ने र कोहीले एमसीसी पारित गर्नै नहुने निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया