ऋणकाे विषयमा झगडा हुँदा भयाे हत्या, युवक पक्राउ

बैतडी, १३ पुस । हत्याको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐर रहेका छन् ।

सिगास–८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको भन्दै रमेशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । रमेशलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ । गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ गते मृत फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएकाले कटकको हत्या गरिएको भन्दै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पक्राउ परेका रमेश घटना भएको भोलिपल्टदेखि फरार रहेकाले उनीमाथि प्रहरीले निगरानी बढाएको र पक्राउ गरेर ल्याएपछि उनले कटकलाई कुटपिट गरेको स्वीकारेका छन् ।

प्रहरी निरीक्षक शाहीले भने, “कालपोखरी मेलामा रमेश र कटकको भेट भएको र भेट हुँदा कटक बोहराले रमेशसिंह ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिको समयमा कटक र रमेशबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।” इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका रमेशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति