महाधिवेशनको उद्घाटन सत्रमा फोन गरेर ओलीलाई प्रचण्डको निम्ता

काठमाडौं, ११ पुस । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको आजदेखि सुरु हुने महाधिवेशन उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफै फोन गरेर निम्ता दिएका हुन् । एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् ।

पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए । प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए । एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।

माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board