काठमाडौं, ९ पुस । कांग्रेस सभापतिमा दोहोरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा पार्टीका महामन्त्री गगनकुमार थापालाई सहभागी गराए । यसबाट उनले युवासँगै हिँड्न खोजेको सन्देश दिन खोजेका छन् । १४ औं महाधिवेशनपछि संख्यात्मक रूपमा देउवालाई पार्टीभित्र सहज देखिए पनि कार्यकारी पदमा निर्वाचित भएका थापालगायतका युवा नेतासँग मिलेर काम गर्न भने सजिलो देखिँदैन । महाधिवेशनपछि आन्तरिक शक्ति समीकरणमा देउवा संख्यात्मक रूपमा झनै शक्तिशाली बनेका छन् । केन्द्रीय समितिमा निर्वाचित १ सय ३३ मध्ये दुई तिहाइभन्दा बढी उनी पक्षधर छन् । तर अर्कातिर इतरपक्षबाट उम्मेदवार बनेर उपसभापति बनेका धनराज गुरुङ तथा दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले प्राप्त गरेको जनमतका पछाडि पार्टी रूपान्तरणको मुद्दा मुख्य रूपमा जोडिएको छ । त्यसैले देउवासँग पार्टी केन्द्रीय कार्यसमितिमा बहुमत भए पनि यी युवासँग जनमतको बल छ ।
नेता प्रकाशशरण महतले युवा र पुराना सबैलाई समेटेर अघि बढ्दा मात्र पार्टी रूपान्तरण हुन सक्ने बताए । विगतमा जस्तो सहमति र बहुमत दुवै प्रक्रियाबाट अघि बढ्न नसक्ने स्थिति कम्तीमा अब नरहने दाबी उनको छ । सभापतिको कार्यशैली र परम्परागत सोचभन्दा पनि आन्तरिक भागबन्डाको समस्याले विगतमा पार्टीले राम्रोसँग काम गर्न नसकेको उनको बुझाइ छ ।
देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशतको हैसियत प्राप्त गरेका शेखर कोइरालाले भागबन्डा नखोज्ने तर योग्यता र क्षमताका आधारमा न्याय हुनुपर्ने बताएका छन् । कोइरालाको यो भनाइले पनि सभापतिलाई काम गर्न सहज हुने बुझाइ महतको छ ।काम देखाउन र मुख्य कार्यकारी पदमा आएका युवाको चाहनाअनुरूप अघि बढ्न देउवालाई केन्द्रीय कार्यसमितिमा प्राप्त दुई तिहाइ संख्याले मात्र नहुने बुझाइ कोइराला पक्षको छ । पार्टीको परम्परागत घेराभन्दा बाहिरको ठूलो पंक्ति र समाजले समेत युवा नेतृत्वप्रति बढी आशा र भरोसा राखिरहेका छन् । महाधिवेशनका बेला प्रकट भएका गुटलाई अन्त्य गर्न सके पार्टीलाई रूपान्तरण गर्न सकिने अर्का नेता एनपी साउदले बताए । महाधिवेशनको प्रतिस्पर्धामा खडा भएका गुटले झ्याँगिने मौका पायो भने संस्थागत रूपमा पार्टीलाई अघि बढाउन अप्ठ्यारो पर्ने उनको बुझाइ छ ।
देउवा भाग्यमा बढी विश्वास गर्ने नेता हुन् । पार्टीको १४ औं महाधिवेशन उनका लागि त्यस्तै भाग्य बन्यो । चार वर्षदेखि नेतृत्व परिवर्तनको मुद्दा अघि सार्नेहरू अन्तिम मोडमा देउवालाई नेता मान्ने ठाउँमा आइपुगे । वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालीन महामन्त्री शशांक कोइरालाको भूमिकादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा गरेको समर्थनले देउवालाई सभापतिमा दोहोरिन मद्दत पुर्यायो । नेतृत्व परिवर्तनको मुद्दा बोकेर अघि बढ्नेमा अन्तिममा शेखर एक्लै बने । विधि–विधानअनुसार हिँड्नेदेखि पार्टीलाई रूपान्तरण गर्ने मुद्दाको जगमा उभिएकाले युवाले यो सफलता पाएका हुन् । आफूले चाहेजस्तो बाटोमा कांग्रेसलाई अघि बढाउन केन्द्रीय कार्यसमितिको बनोट, नेतृत्वको परम्परागत कार्यशैली र पुरातन सोच उनीहरूका लागि पाइलैपिच्छे चुनौती बन्ने देखिन्छ । त्यसका लागि दुई महामन्त्री एकै ठाउँमा उभिँदा यथास्थितिमा रहन खोज्ने नेतृत्वलाई दबाब पुग्ने ठम्याइ थापाको छ ।
उनीहरूका लागि पार्टीको केन्द्रीय कार्यसमितिको संख्या प्रतिकूल रहे पनि सबल पक्ष पार्टीको जनाधार छ । पार्टीभित्र र बाहिरको ठूलो पंक्तिको मुख्य चासो नेतृत्वमा को छ भन्नेतिर होइन, थापा र शर्माले आगामी दिनमा लिने नीतिप्रति छ । अर्कोतर्फ महामन्त्रीद्वय थापा र शर्माको राजनीतिक प्रतिस्पर्धा र सम्बन्ध भविष्यमा कस्तो हुने भन्ने विषयले पनि धेरैको ध्यान खिचेको छ । नेतृत्वलाई डोर्याएर पार्टीभित्र उर्लेको जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न जति चुनौती थापा–शर्मालाई देखिन्छ, उनीहरूलाई उपेक्षा गरेर अघि बढ्दा सभापति देउवाका लागि पनि उत्तिकै जोखिम हुने देखिन्छ । देउवाप्रति जनधारणा राम्रो छैन र उनको विगत पनि सुखद छैन । राजनीतिक घटनाक्रम र परिस्थितिले उनी पाँच पटकसम्म प्रधानमन्त्री बन्न सफल भए पनि सम्झनलायक काम उनीबाट भएको छैन । संसदीय राजनीतिमा विकृति र विसंगति भित्र्याएको दोष देउवामाथि लाग्दै आएको छ । विगतका नकारात्मक ‘ट्र्याक रेकर्ड’ लाई सच्याउन देउवाका लागि पनि यो अन्तिम मौका हो । स्वास्थ्यले साथ दिए पनि देउवालाई विधानले अर्को पटक सभापति हुनबाट बन्देज लगाएको छ । कांग्रेसको विधानमा एकै व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।
प्रतिक्रिया