सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई तालिवानले रोक्यो

काठमाडौं, ९ पुस । तालिवान सेनाले अफगानिस्तानसँग जोडिएको सीमामा काँडेतार लगाइरहेको पाकिस्तानी सेनालाई रोकेको छ ।बुधबार अफगानिस्तानका अधिकारीले दुवै मुलुकको सिमानामा काँडेतार लगाउने क्रममा पाकिस्तानी सेनालाई रोकेको बताएका हुन् ।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारज्मीले पूर्वी प्रान्त नाङ्गाहारमा आइतबार गैरकानूनी रुपमा काँडेतार लगाइरहेका पाकिस्तानी सेनालाई तालिवान सेनाले रोकेको बताएका हुन् ।सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा तालिवान सेनाले पाकिस्तानी सेनाको काँडेदार जफत गरेको देख्न सकिन्छ ।

त्यस्तै, तालिबानका एक वरिष्ठ अधिकारीले केही परको सुरक्षा पोष्टमा रहेका पाकिस्तानी सेनालाई अबदेखि सीमामा काँडेदार नलगाउन भनेको सुन्न पनि सकिन्छ ।यसैबीच, तालिवानका प्रवक्ता बिलाल करिमीले घटनाको छानबिन भइरहेको बताएका छन् । यसबाहेक नाम गोप्य राख्ने सर्तमा दुईजना तालिवान अधिकारीले सीमामा भएको घटनापछि तालिवान र पाकिस्तान सेनाबीच तनावपूर्ण अवस्था आएको बताएका छन् ।घटनालगत्तै पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार प्रान्तमा बुधबार मोर्टार हमला गरेको पनि ती अधिकारीहरूको भनाइ छ । मोर्टार हमला र काँडेतारको घटना आपसमा सम्बन्धित रहे वा नरहेको भनेर प्रस्ट भइसकेको छैन ।

तर, लगत्तै अफगान सेनाका हेलिकप्टरले उक्त क्षेत्रमा गस्ती गरेका थिए । पाकिस्तानी सेनाले भने उक्त घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।पाकिस्तान र अफगानिस्तानबीच २६०० किलोमिटर लामो सिमाना छ । बेलायतको उपनिवेशकालीन समयमा छुट्ट्याइएको सिमानाका कारण दुवैतर्फका परिवार एवं जातिहरू अलग हुन पुगेका छन् ।

तर, अफगानिस्तानको विरोधबीच पाकिस्तानले अधिकांश सीमानालाई काँडेतारले घेरिसकेको छ ।यसअघि अमेरिकाको समर्थन प्राप्त अफगान सरकार र पाकिस्तानबीच सिमानामा काँडेतार लगाउने विषयमा विवाद उत्पन्न भएको थियो । तालिबान र पाकिस्तानको नजिकको सम्बन्ध छ तर, पछिल्लो घटनाले उक्त विषयलाई लिएर दुबै पक्षबीच मतभेद रहेको प्रस्ट हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति