काठमाडौं, ९ पुस । चिलीका नवनियूक्त गाब्रियल बोरिच अहिलेमात्र हैन पहिलो पटक दस वर्षअघि चर्चामा आएका थिए । गुणस्तरीय सार्वजनिक शिक्षाको माग गर्दै भएका विशाल प्रदर्शनहरुको नेतृत्व लामो, छिरलिएको कपाल पालेका यीनै बोरिचले विद्यार्थीको रुपमा गरेका थिए। आइतबार भएको निर्वाचनमा उनले गरिबहरुलाई सामाजिक सुरक्षा र धनीहरुलाई कर थप्ने नारा लिएर राष्ट्रपति पदमा उठ्दा इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्दै जित हात पारे।
३५ वर्षको उमेरमा निर्वाचित भएका बोरिच मार्चमा पदभार ग्रहण गरेपछि मुलुकको इतिहासकै सबैभन्दा कान्छो राष्ट्रपति हुनेछन्। कानुन विषय अध्ययन गर्न विश्वविद्यालय भर्ना भएका बोरिचले बीचमै प्रदर्शनतिर लाग्दा डिग्री भने पुरा गरेनन्। २०१४ मा चिलीको सांसदमा निर्वाचित भएका उनी पहिलो दिन अनौपचारिक पोसाकमा संसदमा उपस्थित भएपछि विपक्षीले हंगामा खडा गरेका थिए। परिवर्तनकोलागि फरक मार्ग अपनाउदै आएका उनको निवाृचनको जितसँगै दशकौँपछि चिलीको समाज पूर्ण परिवर्तनको संघारमा छ र त्यो परिवर्तनको नेतृत्व बोरिचले नै गर्नेछन्।
दक्षिण अमेरिकी मुलुकमा एक युवा राष्ट्रपति निर्वाचित भएपछि संसारभरी यसको चर्चा भएतापनि चिलीका थुप्रै जनताका लागि यो आश्चर्यको विषय भने होइन। किनभने करिब एक दशकदेखि चिलीमा देखिँदै आएको परिवर्तन अहिले आएर संस्थागत भएको हो। मुलुकलाई समान र समावेशी बनाउन लाखौँलाख युवाहरु सडकमा उत्रिएका थिए। विगतसँगको सम्बन्ध तोड्न तयार यही नयाँ पुस्ताको आवाजका रुपमा बोरिचलाई लिने गरिन्छ।
बोरिचले चुनाव जित्नुअघि नै चिली परिवर्तन भइसकेको र अहिले भने ती परिवर्तनलाई स्थायी बनाउन सक्ने व्यक्ति राष्ट्रपति भएका ३५ वर्षीया फर्नान्डा एजोकार ले बताइन् ।
बोरिचले जनआशा पूरा गर्लान् भन्ने प्रश्नको जवाफ त समयले नै दिनेछ तर उनी माथि लाखौं युवा र जनताको विश्वास बायम भने पक्कै पनि छ ।
प्रतिक्रिया